काठमाडौँ । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेपछि राजनीतिक समीकरण रोचक बनेको छ । नाउपाको बलियो पकड मानिने यस क्षेत्रमा अब चौधरीले कसलाई समर्थन गर्छन् भन्ने चासो बढेको छ ।
नागरिक उन्मुक्ति पार्टी अहिले चार समूहमा विभाजित भइसकेको छ । पार्टीका नेताहरू फरक–फरक समूह र दलबाट उम्मेदवार बनेका छन् । यसले यस क्षेत्रको चुनावी माहोल झनै जटिल र प्रतिस्पर्धात्मक बनाएको छ ।
२०७९ सालको निर्वाचनमा कैलाली–१ बाट तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी भएकी थिइन् । उनी रेशम चौधरीकी श्रीमती हुन् । त्यस निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका साझा उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत प्राप्त गरेका थिए भने एमालेका तपेन्द्रबहादुर रावलले पाँच हजार ९१० मत पाएका थिए ।
यसपटक रेशम चौधरी स्वयं उम्मेदवार बने पनि उनको उम्मेदवारी रद्द भएको छ । रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी नेकपामा विलय भइसकेको छ । सोही कारण यस क्षेत्रबाट नेकपाका तर्फबाट रामलाल डगौरा थारु उम्मेदवार बनेका छन् । रेशमको उम्मेदवारी खारेज भएपछि रञ्जिता श्रेष्ठ अझ सक्रिय भएर डगौराको पक्षमा मत माग्न लागेकी छन् ।
यसैबीच, नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय कोषाध्यक्ष कोमल ज्ञवाली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन् । यस क्षेत्रमा राम्रो प्रभाव राख्ने ज्ञवाली रास्वपाबाट उम्मेदवार बनेपछि कैलाली–१ को चुनाव थप रोचक बनेको छ ।
नाउपाकै अर्का नेता प्रदीपकुमार चौधरी उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका छन् । विगतमा एउटै पार्टीमा रहेर काम गरेका नेताहरू फरक–फरक दलबाट उम्मेदवार हुँदा यसको लाभ अन्य दललाई पुग्ने अनुमान गरिएको छ ।
कैलाली–१ मा २०४८ सालदेखि अहिलेसम्म कुनै पनि उम्मेदवार दोहोरिएर विजयी भएका छैनन् । २०४८ मा कांग्रेसका गङ्गाबहादुर कुँवर, २०५१ मा एमालेका हिमाञ्चलराज भट्टराई, २०५६ मा कांग्रेसकी सुशीला स्वाँर, २०६४ मा माओवादीकी रुपा सोशी चौधरी, २०७० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जनकराज चौधरी, २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीका रेशमलाल चौधरी र २०७९ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी भएका थिए ।
यसपटक रञ्जिता श्रेष्ठले उम्मेदवारी नदिएकी छन् भने रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । यसले २०४८ देखि २०७९ सम्म कैलाली–१ मा कसैले पनि लगातार दुईपटक चुनाव जित्न नसकेको इतिहासलाई निरन्तरता दिएको छ ।
प्रकाशित मिति: १० माघ २०८२, शनिबार













प्रतिक्रिया