काठमाडौं । नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा आइतबार सर्लाही जाने भएका छन्।

सभापति थापा प्रतिनिधिसभा निर्वाचनका लागि आफूले मनोनयन दर्ता गराएको निर्वाचन क्षेत्र सर्लाही–४ मा आइतबार जाने कार्यक्रम रहेको छ।

advertisement

शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले आफू जिल्ला जान लागेको जानकारी दिए।

‘भोलि म सर्लाही जाँदैछु। म पटक–पटक क्षेत्र नम्बर ४ गएको छु,’ उनले भने, ‘तर यसअघिसम्म राजनीतिक कार्यक्रममा मात्र गएको थिएँ। यो पटक भने उम्मेदवार बनेर जाँदैछु। मेरो मनमा अत्यन्तै धेरै उत्साह छ।’

सभापति थापाले सर्लाही–४ का युवामाथि भरोसा गरेर आफूले जीवनकै सबैभन्दा ठूलो राजनीतिक निर्णय लिएको दाबी गरे।

‘म जीवनको अत्यन्तै ठूलो राजनीतिक निर्णय गरेर सर्लाही–४ आएको छु, तपाईंहरूको भर परेर,’ उनले भने।

उनले अन्तरक्रियामा सहभागी युवाहरूलाई निर्वाचनका बेला सर्लाही पुगेर सक्रिय भूमिका खेल्न पनि आग्रह गरे। युवाहरूको समर्थनकै आधारमा आफू सर्लाही–४ बाट निर्वाचन लड्ने निर्णयमा पुगेको उनको भनाइ थियो।

‘चुनावको बेला तपाईंहरू सक्ने काम गर्न सर्लाही आइदिनुपर्छ। घर–घरमा पुगेर अभिभावकलाई सम्झाइदिनुपर्छ,’ उनले भने, ‘हाम्रो साथी, हाम्रो दाइ, हामीमाथि भरोसा गरेर आएको छ, उसलाई यो ठाउँको सांसद बनाएर पठाउनुपर्छ भनेर विश्वासका साथ काम गरिदिनुहोस्। म तपाईंहरूको भरोसामा आएको हुँ।’

यसैबीच, शुक्रबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै निर्वाचनमा जाने निर्णय गरेको थियो।

उक्त प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा पेश गरेका थिए, जसलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको थियो।

प्रकाशित मिति: १० माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com