काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले निर्वाचन प्रहरीका लागि जनशक्तिको कमी देखिँदै पुनः दरखास्त आह्वान गरेको छ। निर्वाचन प्रहरीका लागि एक हजार पाँच सय ७३ जनाको दरखास्त माग गरिएकोमा हालसम्म तनहुँमा एक हजार ४३३ जनाले निवेदन दिएको थियो।
प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार कार्यालयले शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणपछि एक हजार २३६ जनालाई उत्तीर्ण गरी लिखित परीक्षा सञ्चालन गरेको थियो, जसमा एक हजार २१६ जना उत्तीर्ण भएका छन्।
जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै निर्वाचन प्रहरीका लागि थप दरखास्त माग गरेको छ। यसअघि पुस २५ देखि माघ ३ सम्म दरखास्त लिइएको थियो भने अब पुनः आजसम्म निवेदन दिन सकिने व्यवस्था गरिएको छ।
प्रत्येक इच्छुक उम्मेदवारले जिल्ला प्रहरी कार्यालय दमौली, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, बेलचौतारा, भानु र बन्दीपुरमा निवेदन दिन सक्नेछन्। पुनः आवेदन माग गरेको पहिलो दिन शनिबार १९२ जनाले आवेदन दिएका छन्, जसमा ६७ जना महिला र १२५ जना पुरुष रहेका छन्।
प्रकाशित मिति: ११ माघ २०८२, आइतबार













प्रतिक्रिया