काठमाडौं। नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बंशलाल तामाङले देश परिवर्तन गर्न सोच र कार्यशैली दुवै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।

उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै तामाङले देश बदल्न आफूहरू नै बदलिनुपर्ने धारणा व्यक्त गरे। उनले सोच परिवर्तनका लागि नेपाली कांग्रेसलाई विजयी बनाउनुपर्ने उल्लेख गर्दै कांग्रेसले जित हासिल गरे देशलाई हराभरा र समृद्ध बनाउने बाटो खुल्ने बताए।

advertisement

उनले भने, “देश बदल्नका लागि हामीले नै बदलिनुपर्छ, सोच बदल्नुपर्छ। त्यो सोच परिवर्तन गर्न नेपाली कांग्रेसलाई जिताउनुपर्छ। कांग्रेस जिते देशलाई हराभरा बनाउन सकिन्छ।”

निर्वाचन प्रचारप्रसारको शैलीमाथि आत्मसमीक्षा आवश्यक रहेको बताउँदै तामाङले विगतमा सयौं सवारीसाधन प्रयोग गरेर गरिएको प्रचारले जनताको कति मन जित्न सक्यो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, निर्वाचित भएर गएका प्रतिनिधिहरूले जनताको कति काम गर्न सके भन्ने विषयमा पनि मूल्याङ्कन जरुरी रहेको उनले बताए।

कार्यक्रममा तामाङले कांग्रेस नेता गगन थापाको पनि चर्चा गरे। उनले थापालाई भावी प्रधानमन्त्रीका रूपमा चित्रण गर्दै देशभर कांग्रेस जिताउने अभियानमा सक्रिय रहेको बताए। थापाले आफ्नो परम्परागत निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ छोडेर तराईको सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएको उदाहरण प्रस्तुत गर्दै यसले कांग्रेसको राष्ट्रिय दृष्टिकोण स्पष्ट गरेको तामाङको भनाइ थियो।

उनका अनुसार गगन थापाको उम्मेदवारीले नेपाली कांग्रेस केवल काठमाडौं केन्द्रित नभई तराई, पहाड र हिमाल सबैलाई समान रूपमा हेर्ने पार्टी हो भन्ने सन्देश दिएको छ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com