काठमाडाैं । नेकपा (एमाले) ओखलढुङ्गाका नेता तथा संविधानसभा सदस्य हर्कबोल राईले केही व्यक्तिले पार्टी छोड्दैमा एमाले कमजोर नहुने स्पष्ट पारेका छन्। बहुदलीय लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई आफूलाई मन परेको पार्टी रोज्ने अधिकार भए पनि पार्टी छोडेपछि अतिरञ्जित हल्ला फैलाउनु गलत भएको उनले बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै राईले काठमाडौंमा पत्रकार सम्मेलन गरी जिल्लामा सक्रिय रूपमा पार्टी काम गरिरहेका जिल्ला कमिटी सदस्यहरूको नाम बदनियतपूर्वक सामाजिक सञ्जालमा सार्वजनिक गर्नु निन्दनीय कार्य भएको उल्लेख गरेका छन्। उनले बदनियतपूर्वक सार्वजनिक गरिएको सूचीमध्ये आधाभन्दा बढी, २० जनाभन्दा बढी व्यक्तिले सार्वजनिक रूपमा असहमति जनाउँदै आफ्नो नाम फिर्ता लिइसकेको र बाँकीको प्रक्रिया जारी रहेको दाबी गरे।

advertisement

एमालेको राजनीतिक यात्रामा धेरै आरोह–अवरोह आएको स्मरण गराउँदै राईले संस्थापक नेताहरूले पार्टी छोड्दासमेत एमाले निरन्तर अगाडि बढिरहेको बताए। “ओखलढुङ्गाका केही साथीले पार्टी छोड्दैमा ओखलढुङ्गे एमाले बिचलित हुनुपर्ने कुनै राजनीतिक कारण छैन,” उनले स्पष्ट पारे।

उनका अनुसार एमाले निर्माणमा माथिल्लो तहदेखि भुइँतहसम्मका नेता–कार्यकर्ताको बराबरी योगदान रहेको छ। विशेषगरी तल्लो तहका कार्यकर्ताको योगदानकै कारण ओखलढुङ्गामा एमाले मजबुत रूपमा अघि बढिरहेको उनले बताए। हाल जिल्लामा निर्वाचन अभियान द्रुत गतिमा अगाडि बढिरहेको पनि उनको भनाइ छ।

आन्तरिक लोकतन्त्रको अभ्यासका क्रममा देखिने अहंकार, दम्भ र एकल नायकवादको अन्त्य स्वाभाविक रूपमा पीडादायी हुने उल्लेख गर्दै राईले अब कुनै भ्रम, सन्देह वा संशयमा बस्नुपर्ने अवस्था नरहेको बताए। “हिजोका अध्याय हिजै समाप्त भएका छन्, दोहोरिन नदिने जिम्मेवारी हामी सबैको हो,” उनले भने।

देश र जनताप्रतिको ऐतिहासिक जिम्मेवारी पूरा गर्न आगामी निर्वाचनमा एमालेको जित आवश्यक रहेको उल्लेख गर्दै राईले युगको माग, युवाको चाहना, महिला प्रतिनिधित्व र पुस्तान्तरणको आवश्यकतालाई सम्बोधन गर्दै पार्टीले जेन्जी पुस्ताकी नेतृ अस्मिता थापालाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको बताए।

आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी अस्मिता थापालाई विजयी बनाउन सबैलाई अभियानमा सक्रिय हुन आग्रह गर्दै उनले अस्मिता थापाको जित सुनिश्चित रहेको दाबी गरे। साथै, उनले उनलाई अग्रिम विजयको शुभकामना पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com