काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट गोरखा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुदन गुरुङले ‘जेन–जी आन्दोलन’ का क्रममा घटनाक्रमको सुरुआत गोली प्रहारबाट भएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा सोमबार सार्वजनिक गरेको अभिव्यक्तिमा गुरुङले तत्कालीन सरकारले आन्दोलनमा सहभागी युवामाथि पहिले गोली चलाएको र त्यसपछि मात्रै सिंहदरबारमा आगजनी भएको बताएका हुन्।
उनले आन्दोलनको क्रममा संरचना जलेको घटनालाई अघि सारेर वास्तविकता ढाकछोप गर्ने प्रयास भइरहेको संकेत गर्दै घटनाको क्रम स्पष्ट हुनुपर्ने बताएका छन्।
‘पहिला गोली चलेको हो, त्यसपछि मात्र सिंहदरबार जलेको हो। सुरुआतमा युवाहरू ढले, त्यसपछि संरचनामा आगो लाग्यो। यो तथ्य स्मरण रहोस्,’ गुरुङले चेतावनी शैलीमा लेखेका छन्।
गुरुङको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया र बहसको विषय बनेको छ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार













प्रतिक्रिया