काठमाडौं । नेपाल र साउदी अरबबीच श्रमिक भर्नासम्बन्धी दुईपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। आइतबार साउदी अरबको रियादमा सम्पन्न कार्यक्रममा सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरबका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका हुन्।

सम्झौतामा हस्ताक्षरअघि दुवै देशका मन्त्रीबीच द्विपक्षीय बैठक भएको थियो। सो क्रममा मन्त्री भण्डारीले उक्त सम्झौताले नेपाल–साउदीबीचको श्रम सहकार्यलाई संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरे। साथै, यो सम्झौता नेपाली श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बनाउन महत्वपूर्ण हुने उनको भनाइ थियो।

advertisement

सम्झौताले साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहितको संरक्षण, रोजगार सुरक्षा तथा सेवा सुविधामा सुधार ल्याउने अपेक्षा गरिएको छ। दूतावासका अनुसार सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयलाई प्राथमिकताका साथ समेटिएको छ।

नेपालले साउदीसँग श्रम सम्झौताका लागि एक दशकभन्दा लामो समयदेखि प्रयास गर्दै आएको थियो। विशेषगरी ‘शून्य लागत’ मा श्रमिक लैजाने प्रस्ताव अघि सारिए पनि लामो समयसम्म सहमति हुन सकेको थिएन। पछिल्ला वर्षहरूमा घरेलु कामदारसमेत समेट्नुपर्ने साउदीको अडान र नेपालले घरेलु श्रमिकमाथि लगाएको प्रतिबन्धका कारण सम्झौता अघि बढ्न सकेको थिएन।

यही वर्ष जेठमा स्विट्जरल्यान्डको जेनेभामा भएको द्विपक्षीय छलफलपछि घरेलु बाहेकका क्षेत्रमा श्रमिक पठाउने सहमतिसँगै सम्झौता सम्भव भएको हो। घरेलु कामदारबारे भने थप छलफल गरिने उल्लेख गरिएको छ।

साउदी अरबमा हाल करिब पाँच लाख नेपाली श्रमिक कार्यरत रहेको अनुमान छ। वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट वार्षिक करिब डेढ लाख नेपाली श्रमिक साउदी गइरहेका छन्। विगतमा श्रम शोषण, करारअनुसार सेवा–सुविधा नपाउने, अत्यधिक कामको बोझ, स्वास्थ्य जोखिम तथा क्षतिपूर्तिको अभावजस्ता समस्या व्यापक थिए।

सरकारले अबको श्रम सम्झौतापछि ती समस्या क्रमशः समाधान भई नेपाली श्रमिकहरूको अधिकार, सुरक्षा र सम्मानजनक श्रम सुनिश्चित हुने विश्वास लिएको छ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com