काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ। निर्वाचन आचारसंहिता, प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोपसहित उजुरी परेको हो।
धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा दर्ता गराएको उजुरीमा सामाजिक सञ्जालमार्फत बालेन शाहले दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उल्लेख गरिएको छ। उजुरीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित सार्वजनिक बहसको सन्दर्भमा शाहले व्यक्त गरेका धारणा आपत्तिजनक रहेको दाबी गरिएको छ।
निवेदनमा बालेन शाहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा’, ‘आतंकवादी’ र ‘देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको फैसला बिना लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप भएको उल्लेख छ। यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउनुका साथै वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदातालाई भ्रममा पार्ने जोखिम रहेको उजुरीमा भनिएको छ।
‘यस्ता गैरजिम्मेवार अभिव्यक्तिले निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सम्पन्न गर्ने संवैधानिक उद्देश्यलाई कमजोर बनाउने मात्र होइन, लोकतान्त्रिक बहसलाई नीति र विचारको तहबाट हिंसात्मक आरोप र अफवाहको तहमा झार्ने कार्य गर्दछ,’ उजुरीमा उल्लेख गरिएको छ।
नेपालको संविधान, निर्वाचन आचारसंहिता तथा प्रचलित कानुनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र अपुष्ट आरोपमार्फत मतदातालाई प्रभावित पार्न निषेध गरेको स्मरण गराउँदै, उक्त अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आचारसंहिता विपरीत ठहर भएमा आवश्यक कारबाही गर्न माग गरिएको छ।
यसैबीच, उजुरीमा महोत्तरीलगायतका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गर्दै उक्त कार्य पनि निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गरिएको छ।
उजुरीकर्ताले यी सबै विषयको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेका छन्।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार













प्रतिक्रिया