काठमाडौँ ।  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि किसिमको कमीकमजोरी नहोस् भन्ने उद्देश्यका साथ सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै अर्यालले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने गरी प्रभावकारी रूपमा काम गर्नुपर्ने बताएका छन्।

advertisement

उनले निर्वाचन लक्षित सुरक्षा योजना तीव्र रूपमा कार्यान्वयन गर्न, उच्च व्यावसायिकता प्रदर्शन गर्न तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन ध्यान दिन निर्देशन दिएका छन्। कमजोर कमाण्ड तथा लापरबाही गर्ने कमाण्डरमाथि तत्काल कारबाही गरिने उल्लेख गर्दै उनले उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्।

महानिरीक्षक अर्यालले कमाण्डको जिम्मेवारीमा खटिएका अधिकृतले पदीय जिम्मेवारी विपरीत कार्य गरेमा कडा कारबाही गरिने बताएका छन्। साथै, मातहतका कर्मचारीलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै परिचालन गर्न निर्देशन दिएका छन्।

सङ्गठनले लिएको नीति र सोचअनुसार कार्यक्षेत्रमा खटिँदा सशस्त्र प्रहरी कर्मचारीले आ–आफ्नो जिम्मेवारीमा थप सक्रियताका साथ काम गर्नुपर्ने उनको भनाइ छ। राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउनेतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

उनले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाइले आर्थिक पारदर्शिता कायम गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउनुपर्ने बताएका छन्। सीमावर्ती क्षेत्रमा गस्ती, पेट्रोलिङ तथा अपरेशनल गतिविधि अझ सुदृढ बनाउन निर्देशन दिएको पनि उनले उल्लेख गरेका छन्।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com