काठमाडौं । चर्चित गायक तथा अभिनेता प्रकाश सपूतले सक्रिय राजनीतिमा खुलेर सहभागी हुने निर्णय गरेको सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा रहेका सपूतले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक यात्राबारे औपचारिक घोषणा गरेका हुन्।
कसैप्रति अपमान वा अनादर नगर्ने प्रतिबद्धतासहित नयाँ समय र नयाँ राजनीतिक आन्दोलनलाई सम्बोधन गर्ने उद्देश्यले आफू नयाँ राजनीतिक शक्तिको निर्माण यात्रामा खुलेर सहभागी भएको सपूतले उल्लेख गरेका छन्।
फेसबुकमा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँगको तस्बिर साझा गर्दै उनीहरूलाई सम्बोधन गरी आफ्नो धारणा सार्वजनिक गरेका सपूतले यस निर्णयलाई व्यक्तिगत तथा पेसागत जीवनकै कठिन निर्णयका रूपमा चित्रण गरेका छन्।
उनले लेखेका छन्, ‘दुःख, संघर्ष, मेहनत र धैर्यले निर्माण गरेको मेरो कला यात्रामार्फत माया गरेका विभिन्न राजनीतिक आस्थाका दर्शक–श्रोताको मन दुख्ने जोखिम लिएर म तपाईंहरूसँग हातेमालो गर्दैछु। पेसागत र व्यावसायिक हिसाबले यो मेरो जीवनकै सबैभन्दा कठोर निर्णय हो।’
आफ्नो निर्णय गलत सावित नहुने विश्वास व्यक्त गर्दै उनले भनेका छन्, ‘कुनै दलप्रति आस्था राखेको कारण अहिले मसँग मन दुखाउने मेरा प्रिय दर्शक–श्रोताको विश्वास हामीले हाम्रो काम, इमानदारी र परिणामबाट पुनः जित्नेछौं। अन्ततः हामी सँगै देशले जित्नेछ।’
हालै देशका विभिन्न मेला तथा महोत्सवमा सहभागी भई लाखौं नागरिकसँग प्रत्यक्ष संवाद गरेको अनुभव सुनाउँदै सपूतले जनताको मनोविज्ञानबारे पनि आफ्नो मूल्याङ्कन प्रस्तुत गरेका छन्। उनका अनुसार सामाजिक सञ्जालमा देखिएजस्तो जनता उग्र वा उत्तेजित छैनन्, तर गहिरो निराशामा छन्।
‘नेता र निर्वाचनप्रति जनताको विश्वास लगभग समाप्त भइसकेको छ,’ उनले लेखेका छन्, ‘तर तपाईंहरूको उदयसँगै मैले जस्तै धेरैले अब ‘अन्तिम पटक’ कसैलाई विश्वास गर्ने साहस गरिरहेका छन्।’
जनतामा उत्साह देखिए पनि पूर्ण भरोसा अझै नजगेको उल्लेख गर्दै सपूतले थुप्रै प्रश्न र डरका बीच उनीहरू केवल आशावादी रहेको बताएका छन्। ‘जो आए पनि सबै उस्तै हुन् भन्ने मनोविज्ञान बलियो छ। तपाईंहरू किन फरक हौं, किन राजनीतिमा आउनुभयो भन्ने कुरा जनतामाझ स्पष्ट गर्नुपर्नेछ,’ उनले भनेका छन्।
राजनीतिक आडमा केही व्यक्ति र शक्तिले व्यवस्थालाई बन्धक बनाएको उल्लेख गर्दै सपूतले अब सुधार, विकास र समृद्धिको जिम्मेवारी वहन गर्ने समय आएको बताएका छन्।
‘कम्तिमा तपाईंहरूको नेतृत्वमा देश सुधारको बाटोमा अघि बढ्नेछ र समृद्ध नेपालको सुरुवात अवश्य हुनेछ भन्ने विश्वासका साथ म यो यात्रामा साथी र साक्षी बन्न आएको हुँ,’ उनले लेखेका छन्।
उनले अन्त्यमा आम नागरिकले अब कुनै व्यक्ति वा दललाई अन्तिम पटक विश्वास गरिरहेको अवस्था रहेको उल्लेख गर्दै मतदाताको अनुहारमा अन्तिम आशा र उत्साह देखिएको बताए। ‘अब तपाईंहरूलाई जनतालाई निराश बनाउने छुट छैन,’ उनले स्पष्ट पारे।
प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार













प्रतिक्रिया