काठमाडाैं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आवश्यक परे फास्ट ट्र्याकको जिरोबिन्दु र रेखांकन परिवर्तन गर्नुपर्ने बताएका छन्।

नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्र्याकको सम्भावित जिरोबिन्दु खोकना पुगेर कार्कीले स्थानीयको सरोकारलाई गम्भीर रूपमा लिएर समाधान खोज्न आग्रह गरेकी हुन्।

advertisement

फास्ट ट्र्याकको काठमाडौं तर्फको सुरूआतको बिन्दु खोकना बनाउने कि फर्सिडोल भन्ने विवाद छ। विवादका कारण फास्ट ट्र्याकको सुरूबिन्दुको प्याकेजको ठेक्का समेत लाग्न सकेको छैन।

प्रधानमन्त्री कार्कीले सडक पूर्वाधार लगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र  सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुने पनि टिप्पणी गरेकी छन्।

फास्ट ट्र्याकको सुरूआतको रेखांकनमा खोकनाको ऐतिहासिक सिकाली मन्दिर क्षेत्र पनि परेको थियो। तर स्थानीयको विरोधपछि नयाँ रेखांकनमा मन्दिर क्षेत्रलाई सुरक्षित राखेर बागमती किरानाबाट अघि बढाउन खोजिएको छ।

तर प्रधानमन्त्री कार्कीले खोकनामा फास्ट ट्र्याकको निरीक्षण गर्दै स्थानीयका सरोकारलाई गम्भीर रूपमा लिई समाधान खोज्न निर्देशन दिएकी हुन्।

 

‘स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिई समाधान खोज्नुपर्छ। आवश्यक परेको खण्डमा रेखांकन र जिरोबिन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ,’ कार्कीले भनिन्, ‘उहाँहरूको विश्वासमा आधात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ।’

प्रधानमन्त्री कार्कीलाई प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले कार्य प्रगति, चुनौतीबारे जानकारी गराएका थिए।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com