काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि परिस्थितिमा अन्य राजनीतिक दलसँग विलय नहुने स्पष्ट पारेका छन्।

पार्टीद्वारा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले पार्टी गठन भएको छोटो अवधिमै विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको बताए। उनले पार्टी गठन भएको तीन महिना पनि पूरा नहुँदै १२ दिनसम्म गम्भीर सङ्कटको अवस्थामा पुगेको उल्लेख गर्दै त्यसबाट केही क्षति भए पनि अहिले पार्टी पुनः सशक्त रूपमा अगाडि बढेको दाबी गरे।

advertisement

उनले भने, “उज्यालो नेपाल पार्टी गठन भएको तीन महिना पनि पूरा भएको छैन। यही अवधिमा हामी १२ दिनजति ‘कोमा’मा पुगेजस्तो भयौं। त्यसले क्षति त पुर्‍यायो, तर अहिले हामी त्यो अवस्थाबाट तन्दुरुस्त भएर निस्किएका छौं। अब उज्यालो नेपाल पार्टी यो देशको नेतृत्व गर्ने दिशामा अघि बढ्छ।”

अध्यक्ष घिसिङले पार्टीको चुनाव चिन्ह ‘बलिरहेको चिम’ रहेको उल्लेख गर्दै उक्त चिन्ह निरन्तर र दीर्घकालसम्म बलिरहने विश्वास व्यक्त गरे। पार्टीको पहिचान र अस्तित्वप्रति दृढ अडान व्यक्त गर्दै उनले भने, “कुनै पनि सर्तमा उज्यालो नेपाल पार्टी कुनै पनि दलसँग विलय हुँदैन। पार्टीको नाम र चिन्ह कुनै हालतमा समाप्त हुन दिइने छैन। अरु पार्टी उज्यालो नेपाल पार्टीमा समाहित हुन सक्छन्, तर यो पार्टी कसैसँग मिसिन जाने छैन।”

उनले उज्यालो नेपाल पार्टी देशका सबै क्षेत्रलाई उज्यालो बनाउने लक्ष्यसहित निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाए। उल्लेखनीय छ, उज्यालो नेपाल पार्टी यसअघि १२ दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएर पछि पुनः अलग भएको थियो।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com