काठमाडौं । अर्थमन्त्री तथा लगानी बोर्ड नेपालका उपाध्यक्ष रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलका सम्भाव्य सबै परियोजनालाई अघि बढाउन निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयमा आयोजित सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार गठन भएको अनुगमन तथा सहजीकरण समितिको १२औँ बैठकमा अर्थमन्त्री खनालले कार्यान्वयन गर्न सकिने परियोजनालाई प्राथमिकताका साथ अगाडि बढाउन जोड दिएका हुन्।

advertisement

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डमा प्राप्त परियोजना प्रस्तावहरूको अवस्था तथा लगानीसम्बन्धी नीतिगत तयारीका विषयमा जानकारी गराएका थिए।

ज्ञवालीका अनुसार लगानी बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जलविद्युत आयोजना, एग्रो–भोल्टाइक परियोजना, ग्रीन हाइड्रोजन, पोडवे लगायतका ठूला पूर्वाधार तथा उत्पादनमूलक परियोजनाका प्रस्ताव प्राप्त भएका छन्।

त्यसैगरी, बैठकमा लगानी बोर्डका सहसचिव हेमराज तामाङले हालसम्म बोर्डमार्फत १७ खर्ब १६ अर्ब रुपैयाँ बराबरका ५५ वटा परियोजना स्वीकृत भइसकेको जानकारी गराए।

बैठकले वन क्षेत्र प्रयोग, जग्गा उपलब्धता, मूल्य समायोजन, प्रसारण लाइन निर्माण, मुआब्जा निर्धारण तथा स्थानीय तहसँगको समन्वयजस्ता विषयमा देखिएका समस्याको समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक सहजीकरण गर्न सिफारिस गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com