काठमाडौ । हुम्लामा भारी हिमपात भएको छ। सदरमुकाम सिमकोटसहित नाम्खा गाउँपालिका प्रभावित भएको हो। मंगलबार साँझदेखि हिमपात सुरु भएको स्थानीयहरूले बताएका छन्। हिमपातले कृषकहरूलाई राहत दिएको छ। तर चिसो बढेपछि जनजीवन कष्टकर बन्न थालेको छ।

उता बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ। जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली र ढोल्यामोडमा हिमपात भएको हो। हिमपातपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा किसान ढुक्क भएका छन्। अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ।

advertisement

यसैगरी बागलुङको ढोरपाटनसहितका उच्च पहाडी क्षेत्रमा पनि भारी हिमपात भएको छ। गए रातिदेखि बाक्लो हिउँ परेको छ। हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन्। हिमपातका कारण धारामा पानी जमेको छ र हिँडडुल कठिन भएको छ। ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला र निसेलढोरमा पनि हिमपात भएको छ। स्थानीय किसानहरूले हिउँदे बाली सप्रिने विश्वास व्यक्त गरेका छन्।

आजको मौसम
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्नेछ। बाँकी पहाडी र तराईका क्षेत्रमा आंशिक बादल रहनेछ। उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा, बागमती, मधेश र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति देशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ। बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।

हिमपात र वर्षाका कारण दैनिक जीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले महाशाखाले सतर्क रहन अनुरोध गरेको छ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com