काठमाडौं । सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने तयारी गरिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादव विदेश भ्रमणको तयारीमा जुटेका छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल माघ १८ गते जापानको चार दिने औपचारिक भ्रमणमा जाने तयारीमा छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारले राष्ट्रपति पौडेललाई औपचारिक भ्रमणका लागि निमन्त्रणा गरेको हो।
नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ (वि.सं. २०१३ भदौ १७) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। हाल जापानमा पनि निर्वाचनको तयारी भइरहेको छ।
राष्ट्रपति पौडेल जापान भ्रमणबाट फर्केकै दिन उपराष्ट्रपति रामसहाय यादव संयुक्त अरब इमिरेट्स (युएई) जाने तयारीमा छन्। युएईमा आयोजना हुने ‘वर्ल्ड गभर्मेन्ट समिट’ मा सहभागी हुन उनी त्यता जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
उपराष्ट्रपति यादवको युएई भ्रमण कार्यक्रम पहिल्यै तय भइसकेकाले राष्ट्रपति पौडेलको जापान भ्रमणको अवधि छोट्याइएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। राष्ट्रपति र उपराष्ट्रपति एकैपटक देश बाहिर रहन नहुने परम्पराअनुसार भ्रमण तालिका मिलाइएको जनाइएको छ।
नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै जापान सरकारले सन् २०२० मा राष्ट्रपति पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ पदकबाट सम्मान गरेको थियो। त्यसबेला पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता थिए।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार












प्रतिक्रिया