काठमाडौँ । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो बनेपछि सवारी आवागमन प्रभावित भएको हो।
दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिक वर्षाका कारण सडक हिलो र चिप्लो हुँदा सवारीसाधन फसेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार सो क्षेत्रमा सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा आएको छ।
आज बिहान परेको वर्षाका कारण उकालोमा सवारी साधन पास हुन नसक्दा लामो जाम लागेको छ। “हल्का वर्षामा पनि सवारी चिप्लिएर चल्न सकेका छैनन्। हिलो बाटोमा ट्रक फसेपछि समस्या थपिएको छ,” उनले भने। पूर्वबाट पश्चिमतर्फ जाने सवारी उकालोमा चिप्लिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको उनले जानकारी दिए।
दाउन्ने खण्डमा सडक अवरुद्ध भएपछि सवारी आवागमनमा समस्या उत्पन्न भएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ। आयोजनाका अनुसार सडक मर्मत गरी चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। बुटवल–नारायणगढ सडक विस्तार अन्तर्गत दाउन्ने खण्डको निर्माण कार्य अझै पूरा नभएकाले सामान्य वर्षामा समेत सडक अवरुद्ध हुने गरेको छ ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार












प्रतिक्रिया