काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति अपनाएको छ। निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउने तथा स्वदेशी सामग्रीको प्रयोग र प्रोत्साहन गर्ने उद्देश्यले यस्तो नीति लिइएको आयोगले जनाएको छ।
निर्वाचनका लागि कुल ५१ प्रकारका सामग्री आवश्यक पर्ने भए पनि तीमध्ये ३७ प्रकारका सामग्री प्रदेश तथा जिल्लास्तरबाट विकेन्द्रीकृत रूपमा खरिद गरी प्रयोग गर्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद गरिनेछ भने अधिकांश सामग्री ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीमार्फत खरिद गरिँदैछ। निर्वाचनका लागि करिब ६ करोड ७५ लाख रुपैयाँ बराबरको मात्र नयाँ सामग्री खरिद गरिएको र बाँकी सामग्री पुरानै स्टक पुनः प्रयोगमा ल्याइएको उनले बताए।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता, दाबी–विरोध तथा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया