मुस्ताङ। मंगलबार राति मुस्ताङ क्षेत्रमा परेको भारी हिमपातले वारागुङ मुक्तिक्षेत्र-१ स्थित मुक्तिनाथ मन्दिरको वातावरण पूर्ण रूपमा सुनसान बनाएको छ। हिमपातका कारण कागबेनी–मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि दर्शनार्थीहरू माथिल्लो मुक्तिनाथ पुग्न सकेका छैनन्।

भारी हिमपातका कारण जोमसोमबाट मुक्तिनाथ तर्फ प्रस्थान गरेका सवारीसाधन बुधबार बिहानदेखि माथि उक्लिन सकिरहेका छैनन्। प्रारम्भिक रूपमा सशस्त्र प्रहरीका टोलीहरूले हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरे पनि आगामी दिनमा थप हिमपात हुने अनुमानका कारण त्यस्तो प्रयास रोकिएको छ।

advertisement

वारागुङ मुक्तिक्षेत्र-१ का वडाध्यक्ष प्रमेश गुरुङले बताएअनुसार, कागबेनीको पहिलो मोडदेखि सेल्फी पार्क, कालोभीर, खिङ्गा र झारकोटसम्म सडकमा भारी हिउँ जमेकाले यात्रुलाई माथि जाने मार्ग बन्द भएको छ। हिमपातका कारण सडक अवरुद्ध भएपछि केही भक्तजन कागबेनीबाटै घोडा चढेर मुक्तिनाथ तर्फ अघि बढ्न बाध्य भएका छन्।

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार, हिमपातअघि दैनिक करिब ५०० भन्दा बढी पर्यटक र दर्शनार्थी मन्दिर पुग्ने गरेका थिए। तर बुधबारदेखि मन्दिर परिसरमा भक्तजनको उपस्थिती अत्यन्तै न्यून भएको छ। सडक खुल्ने नपरी मन्दिरको दैनिक क्रियाकलाप पूजापाठमै सीमित रहने भुसालले बताए।

मंगलबार राति परेको भारी हिमपातले मुक्तिनाथ क्षेत्रका झारकोट, खिङ्गा, रानीपौवा बजार, पुराङ, छेङ्गुरलगायत गाउँहरूलाई पूर्ण रूपमा सेतो हिउँले ढाकेको छ। मन्दिर परिसर, १०८ धारा र मन्दिर अगाडिको स्नानकुण्डमा पनि हिउँ जमेकाले यहाँ दर्शनका क्रममा भक्तजनलाई स्नान गर्न तथा मन्दिर दर्शन गर्न बाधा उत्पन्न भएको छ। अत्यधिक चिसोका कारण दर्शनार्थीहरूले स्वास्थ्य जोखिम भोग्नुपर्ने अवस्था पनि देखिएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताएअनुसार, छुसाङदेखि कोरला सडकसम्म करिब दुई फिटसम्म बाँक्लो हिउँ जमेकाले सडक बन्द भएको छ। हिमपात खुलेपछि मात्र कागबेनी–मुक्तिनाथ सडक सञ्चालनमा आउन सक्ने सम्भावना रहेको उनले जानकारी दिए।

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com