काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनतर्फ अघि बढाउन सफल भएको दाबी गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्मको प्रक्रिया सुमधुर ढंगले सम्पन्न भएको र पार्टीलाई आन्तरिक असन्तुष्टिमा अल्झिन नदिई अघि बढाइएको बताए। उनका अनुसार यस निर्वाचनमा कांग्रेसभित्र कसैलाई आन्तरिक विवादको बहाना छूट छैन।
शर्माले अघिल्लो निर्वाचनको तुलनामा १६५ क्षेत्रमध्ये १०६ ठाउँमा नयाँ अनुहार उम्मेदवारको रूपमा पठाइएको जानकारी दिए। यसबाहेक महिला उम्मेदवारको संख्या पनि केही बढी राखिएको र आगामी दिनमा अझै बढाउने योजना रहेको उनले बताए। उनले दाबी गरे कि पार्टीभित्र सबै पक्षबीच सन्तुलन मिलाएर न्यायोचित तरिकाले टिकट वितरण गरिएको छ।
उपसभापति शर्माले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको पनि स्पष्ट पारे। उनले भने, “भावी प्रधानमन्त्रीको उम्मेदवारबीच बहस भए पनि आफ्ना उम्मेदवारलाई जुनसुकै निर्वाचन क्षेत्रमा पठाउन कांग्रेस तयार छ।”
पार्टीले बनाएको निर्वाचन आचारसंहिता गम्भीरतापूर्वक कार्यान्वयन गर्न निर्देशन दिँदै उनले आगामी दिनमा देश निर्माणका भिजनसहितको घोषणपत्र छिटै सार्वजनिक गरिने जानकारी दिए।
शर्माले विकास र पूर्वाधारको सुधारबारे पनि चर्चा गरे। उनका अनुसार गाउँगाउँमा खानेपानीको पहुँच बढेको छ। उनले भने, “पानीको समस्या अझै पूर्ण रूपमा समाधान भइसकेको छैन, तर केही प्रगति पहिला भन्दा भएका छन्।” उनले विद्युत् र सञ्चार क्षेत्रको सुधारका पनि उदाहरण प्रस्तुत गर्दै भने, “नेपाली कांग्रेस सरकारमा हुँदा वा बाहिर हुँदा पनि हाम्रो नीतिगत आधारमै मुलुकमा विकासका कामहरू अघि बढेका छन्।”
यद्यपि उपसभापति शर्माले कांग्रेसभित्र केही कमजोरीहरू स्वीकारे। उनले भने, “हामीले गर्न नसकेका धेरै काम छन्। केही कमजोरी हाम्रो पक्षबाट भएका कारण नागरिक, मतदाता र युवा पुस्ता हामीसँग रुष्ट भएका छन्।”
शर्माले पटक-पटक सरकार परिवर्तन भए पनि नागरिकले परिवर्तनको अनुभूति पाउन नसकेको पनि औंल्याए। उनका अनुसार, “तीन दशकमा ३० वटा सरकार बनेको छ, तर परिवर्तनको अनुभूति केवल प्रधानमन्त्रीलाई मात्र हुन सक्छ, नागरिकलाई त्यो अनुभूति हुन सकेको छैन।”
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया