काठमाडौं। नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयार गर्ने क्रममा विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार आयोजित छलफल कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रमा समेटिनुपर्ने विषयवस्तु र प्राथमिकताका विषयमा विज्ञहरूसँग सुझाव लिएका हुन्।

छलफलमा बालानन्द पौडेल, विष्णु उप्रेतीलगायत पूर्वराजदूत, अर्थशास्त्री, राष्ट्रिय योजना आयोगका पूर्व तथा वर्तमान सदस्यहरूको सहभागिता रहेको एमाले निर्वाचन प्रचार–प्रसार संयोजक मीन शाहीले जानकारी दिए।

advertisement

अध्यक्ष ओलीले एमाले सुदृढ संगठन, व्यापक जनसमर्थन र लोकप्रिय पार्टीका रूपमा स्थापित भइसकेको दाबी गर्दै भूकम्पपछिको पुनर्निर्माण कार्यलाई उदाहरणीय रूपमा सफल बनाइएको उल्लेख गरे। साथै, गत भदौमा भएका आन्दोलनका कारण राष्ट्रियता, लोकतन्त्र र संविधानमा परेको असरलाई पुनः सुदृढ गर्दै राष्ट्रिय सुरक्षा र एकतालाई मजबुत बनाउने जिम्मेवारी एमालेले लिने बताए।

देशहितमा कुनै पनि प्रकारको आत्मसमर्पण स्वीकार्य नहुने स्पष्ट पार्दै अध्यक्ष ओलीले देशलाई पहिलो प्राथमिकतामा राखेर समृद्धि, सुशासन र दिगो विकासमार्फत नेपाली जनताको सुख–समृद्धिको आकांक्षा पूरा गर्ने गरी घोषणापत्र तयार भइरहेको जानकारी दिए।

एमालेले आगामी पाँच वर्षभित्र व्यवहारिक रूपमा कार्यान्वयन गर्न सकिने, ठोस र परिणाममुखी कार्यक्रम समेटेर घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको निर्वाचन प्रचार–प्रसार संयोजक शाहीले बताए।

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com