काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भारत र चीनविरुद्ध प्रयोग गर्ने अखडाका रूपमा प्रयोग गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। उनले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रियास्थल बनाउन कठपुतली सरकार निर्माण गरिएको दाबी गरेका छन्।
प्रेस चौतारी नेपालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको ‘क्रिडास्थल’ बनाउने उद्देश्यले सत्ता सञ्चालन गरिएको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिन योजनाबद्ध रूपमा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको बताए। उनले चुनावी अभियानसमेत त्यही योजनाअनुसार अघि बढाइँदै आएको आरोप लगाए।
नेपाललाई दुवै छिमेकी मुलुक भारत र चीनविरुद्ध प्रयोग गर्ने शक्ति राष्ट्रहरूको प्रयासलाई नेकपा एमालेले सफल हुन नदिने पोखरेलको भनाइ छ। उनले मुलुकको स्वाभिमान, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न एमाले योजनाबद्ध रूपमा सक्रिय रहेको बताए।
“हाम्रा दुवै छिमेकी मुलुक भारत र चीनविरुद्ध शक्ति राष्ट्रहरूको चलखेल गर्ने अखडाका रूपमा नेपालको भूमि प्रयोग गर्न नदिने र नेपाल राष्ट्रलाई कमजोर हुन नदिने उद्देश्यका साथ हामी अघि बढिरहेका छौँ,” उनले भने।
महासचिव पोखरेलले आउँदो निर्वाचन अघिल्ला निर्वाचनभन्दा फरक र विशिष्ट परिस्थितिमा हुन गइरहेको बताए। उनका अनुसार भदौ २३ र २४ गते भएका घटनाका कारण दुई वर्षअघि नै निर्वाचनको अवस्था सिर्जना भएको हो।
“यो निर्वाचन मुलुक कुन दिशातर्फ जाने भन्ने विषयमा जनमत संग्रहजस्तै बनेको छ,” उनले भने, “जन–जीको नामले परिचित नवयुवाहरूको भावनामाथि खेल्दै उनीहरूको आन्दोलनलाई अपहरण गरेर देशलाई गम्भीर भूराजनीतिक चक्रव्यूहमा फसाउने षड्यन्त्रअन्तर्गत यी घटनाहरू गराइएको एमालेको ठम्याइ छ।”
पोखरेलले मुलुक प्रतिगमनतर्फ धकेलिएको, संविधान ‘घायल’ अवस्थामा पुगेको र लोकतन्त्र कमजोर बनाइएको आरोप लगाए। निर्वाचनपछि पनि विदेशी योजनाअनुसार कठपुतली सरकार गठन गर्ने प्रयास भइरहेको दाबी उनले गरे।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया