काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न तीव्र कदम चालिरहेको छ।

आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ। आचारसंहिता पालना सुनिश्चित गर्न आयोगले सबै सरोकारवालालाई सतर्क गराउँदै आएको छ।

advertisement

केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा अहिलेसम्म राजनीतिक दल, उम्मेदवार र संस्थाबाट २१ वटा स्पष्टीकरण सोधिएको थियो। तीमध्ये पाँचवटा मात्रै जवाफ प्राप्त भएको र बाँकीका लागि आयोगले फेरि आग्रह गरिरहेको छ।

आयोगले मिथ्या, भ्रमपूर्ण वा घृणास्पद अभिव्यक्ति दिने व्यक्ति वा संस्थाको निगरानी गर्दै गैरकानुनी कार्य गर्नेहरूलाई नियामक निकायसँग सहकार्य गरेर कानूनी दायरामा ल्याउने पहल गरिरहेको छ।

निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन इकाइ पूर्ण रूपमा क्रियाशील रहेको आयोगले जनाएको छ। यस इकाइले पत्ता लगाएका ३०२ हानिकारक सूचना सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएको छ।

निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउने कुनै पनि गतिविधि भएमा लिखित, मौखिक वा विद्युतीय माध्यमबाट आयोग, मुख्य निर्वाचन अधिकृत कार्यालय, प्रदेश/जिल्ला निर्वाचन कार्यालय वा जिल्ला आचारसंहिता अनुगमन अधिकृत समक्ष उजुरी दिन सकिन्छ।

 

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com