काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रका नमूना मतपत्र सार्वजनिक गरेको छ।

आयोगले सातै प्रदेशका सबै निर्वाचन क्षेत्रका लागि नमूना मतपत्र सार्वजनिक गरेको हो। एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि फरक–फरक नमूना मतपत्र तयार पारिएको छ। यी नमूना मतपत्र मतदाता शिक्षाका उद्देश्यका लागि प्रयोग गरिने निर्वाचन आयोगले जनाएको छ।

advertisement

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार फरक–फरक बनाइएको छ। उम्मेदवार बढी रहेका निर्वाचन क्षेत्रका मतपत्र तुलनात्मक रूपमा ठूला छन् भने कम उम्मेदवार भएका क्षेत्रमा साना आकारका मतपत्र छापिएका छन्। यस आधारमा काठमाडौँका केही निर्वाचन क्षेत्रका मतपत्र आकारका हिसाबले सबैभन्दा ठूला देखिएका छन्।

कर्णाली प्रदेशमा सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एक–एक निर्वाचन क्षेत्र छन् भने दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र कायम छन्। ती सबै जिल्लाका नमूना मतपत्र आयोगले सार्वजनिक गरेको छ।

यसैगरी सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एक–एक निर्वाचन क्षेत्र रहेका छन्। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र छन्। यी सबै निर्वाचन क्षेत्रका नमूना मतपत्र पनि सार्वजनिक गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भने यसअघि नै सम्पन्न भइसकेको छ।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com