काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबारदेखि माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको उडान नं. ४३३ बाट आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्नेछन्। भ्रमण सम्पन्न गरी उनी माघ २१ गते सोही एयरलाइन्सको उडान नं. ४३४ मार्फत दिउँसो ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम छ।

advertisement

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारद्वारा आयोजना हुने विशेष स्वागत समारोहमा सहभागी हुनेछन्। साथै, माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।

उक्त दिन राष्ट्रपति पौडेल र जापानकी प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच भेटवार्ता हुने तालिका रहेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए। त्यसैगरी, जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि राष्ट्रपति पौडेलको शिष्टाचार भेटवार्ता हुने जनाइएको छ।

भ्रमणका अवसरमा राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागी हुनेछन् भने जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि उपस्थित रहनेछन्। राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू पनि भ्रमणमा सहभागी हुनेछन्।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com