काठमाडौ । सर्लाहीमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ भने १९० जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार सो अवधिमा साना–ठूला चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी कुल ६४१ वटा दुर्घटना भएका छन्।

दुर्घटनामा मृत्यु हुनेमध्ये अधिकांश मोटरसाइकल चालक तथा सवार रहेका छन्। जिल्ला भित्री सडकखण्डमा दुर्घटना बढी हुने गरेको छ। उनले भनेका छन् कि सवारी चालक तथा पैदलयात्रीले ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटना हुने गर्छ। यसलाई ध्यानमा राखेर कार्यालयले विद्यालयका बालबालिका, स्थानीय र पैदलयात्रीलाई समावेश गरी दर्जनौँ पटक ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिसकेको छ।

advertisement

त्यसैगरी, सोही अवधिमा नियम उल्लङ्घन गरी चलाइएका सवारीसाधनबाट रु ४८ लाख २८ हजार ५०२ राजस्व सङ्कलन भएको छ। प्रहरी निरीक्षक साहका अनुसार चालक अनुमतिपत्र नभएका मोटरसाइकल चालक, हेलमेट नलगाएका, यात्रा अनुमतिपत्र नभएका, क्षमताभन्दा बढी सामान बोकेका ट्रक लगायतलाई कारबाही गरिएको छ। पूर्व–पश्चिम राजमार्ग र भित्री सडकखण्डमा पनि विभिन्न समयमा जाँच गरी नियम उल्लङ्घन गर्ने सवारीलाई कारबाही गरिएको थियो।

प्रहरीले लामो दूरीका यात्रुवाहक बसमा दुई जना चालक अनिवार्य हुने विषयमा पनि कडाइका साथ जाँच गर्ने गरेको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा ७,०२७ वटा लामो दूरीका बस जाँचका क्रममा २२ वटाले नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको छ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com