काठमाडौं । गोरखा–२ बाट उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि गोरखा जिल्लामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को प्रत्यक्ष उम्मेदवार शून्य भएको छ।
भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिएसँगै क्षेत्र नम्बर १ मा प्रलोपाका तर्फबाट उम्मेदवार रहेका गोपालबाबू श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन्। ‘मुख्य मान्छे नै नभएपछि म पनि चुनाव नलड्ने’ भन्दै श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि गोरखामा प्रलोपाको कुनै पनि प्रत्यक्ष उम्मेदवार नरहेको अवस्था आएको हो।
डा. भट्टराईले २०६४ सालको संविधानसभा निर्वाचनमा गोरखा–२ बाट देशमै सबैभन्दा धेरै मत प्राप्त गर्दै ऐतिहासिक कीर्तिमान बनाएका थिए। उनले आफ्ना प्रतिस्पर्धीलाई सबैभन्दा ठूलो मतान्तरले पराजित गर्दै दुईवटा रेकर्ड कायम गरेका थिए।
यसपटक भट्टराईको उम्मेदवारी फिर्तापछि उनका समर्थक मत आफ्नो दलतर्फ आउने दाबी विभिन्न राजनीतिक दलहरूले गर्न थालेका छन्। तर प्रलोपाका जिल्ला इन्चार्ज यानप्रसाद भट्टले भने पार्टीले हालसम्म कुनै पनि दल वा उम्मेदवारलाई समर्थन गर्ने निर्णय नगरेको स्पष्ट पारेका छन्।
उनका अनुसार जिल्लामा प्रत्यक्ष उम्मेदवार नरहे पनि पार्टी समानुपातिक उम्मेदवारलाई केन्द्रमा राखेर मत माग्न जानेछ। ‘समानुपातिक उम्मेदवार लिएर मतदातामाझ जाँदा प्राप्त सुझाव र प्रतिक्रिया आधारमा कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय हुन सक्छ,’ भट्टले बताए।
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार













प्रतिक्रिया