एजेन्सी – नासाले पाँच दशकभन्दा बढी समयपछि पहिलो पटक अन्तरिक्ष यात्रीसहित चन्द्रमातर्फ प्रक्षेपण गर्ने ऐतिहासिक मिसनका लागि तयारी तीव्र बनाएको छ। अमेरिकाको फ्लोरिडास्थित केप क्यानाभेरलमा शनिबार दुई दिने अभ्यासात्मक काउन्टडाउन (प्र्याक्टिस काउन्टडाउन) सुरु भएको छ, जसले नयाँ चन्द्र रकेटमा इन्धन भर्ने प्रक्रिया परीक्षण गर्नेछ।
यो परीक्षण सफल भएमा चार जना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको वरिपरि घुमाएर पृथ्वी फर्काउने मिसनको प्रक्षेपण मिति तय हुने नासाले जनाएको छ। कमाण्डर रिड वाइजम्यानको नेतृत्वमा रहेका अन्तरिक्ष यात्रीहरू हाल स्वास्थ्य सुरक्षाका लागि क्वारेन्टिनमा छन्। उनीहरू सन् १९७२ पछि चन्द्रमातर्फ यात्रा गर्ने पहिलो मानव टोली हुनेछन्।
अन्तरिक्ष यात्रीहरूले टेक्सासको ह्युस्टनस्थित नासा केन्द्रबाट अभ्यास प्रक्रियाको निगरानी गर्नेछन् र रकेट उडानका लागि स्वीकृत भएपछि केनेडी स्पेस सेन्टरतर्फ प्रस्थान गर्ने तयारीमा छन्। तीन सय २२ फिट अग्लो ‘स्पेस लञ्च सिस्टम’ रकेट दुई साताअघि नै प्रक्षेपण स्थलमा सारिएको थियो।
यदि सोमबार हुने इन्धन भर्ने परीक्षण सफल भएमा नासाले एक साताभित्र प्रक्षेपण तयारी गर्न सक्ने जनाएको छ। परीक्षणका क्रममा रकेटमा सात लाख ग्यालोनभन्दा बढी अत्यन्त चिसो इन्धन भर्ने योजना छ, जुन इन्जिन प्रज्वलन हुनुअघि करिब ३० सेकेन्ड अगाडि रोकिनेछ। यसअघि अत्यधिक चिसो मौसमका कारण इन्धन परीक्षण र प्रक्षेपण तालिका दुई दिन पछि सारिएको थियो।
हालको योजना अनुसार फेब्रुअरी ८ सबैभन्दा चाँडो सम्भावित प्रक्षेपण मिति हो। ‘ओरियन’ क्याप्सुलमा सवार अमेरिकी र क्यानाडाली अन्तरिक्ष यात्रीहरू चन्द्रमाको वरिपरि घुमेर बिना अवतरण पृथ्वी फर्कनेछन्। करिब १० दिन लामो यस मिसनको अन्त्य प्रशान्त महासागरमा अवतरण (स्प्ल्यासडाउन) भएर हुनेछ।
सन् १९६८ देखि १९७२ सम्मको अपोलो कार्यक्रम अन्तर्गत नासाले २४ जना अन्तरिक्ष यात्रीलाई चन्द्रमातर्फ पठाएको थियो, जसमा १२ जनाले चन्द्र सतहमा पाइला टेकेका थिए।
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार













प्रतिक्रिया