काठमाडौं । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छापिएको छ। निर्वाचन आयोगका अनुसार देशका २५ जिल्लामा मतपत्र छाप्ने काम सम्पन्न भइसकेको छ।

जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छापाइ नियमित रूपमा भइरहेको छ। यसअघि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दुई करोड ८ लाख ३० हजार मतपत्र छापिसकिएको छ। त्यस्तै, मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र पनि छापिसकिएको छ।

advertisement

निर्वाचन शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा स्वीकृत सामग्री सार्वजनिक गरेको छ। यी सामग्री आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा उपलब्ध छन्।

मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई लक्षित गरी तयार पारिएका यी सामग्रीले निर्वाचनको पारदर्शिता बढाउने, नागरिकलाई आधिकारिक र विश्वासनीय जानकारी उपलब्ध गराउने तथा मिथ्या वा भ्रमपूर्ण सूचनाको प्रभाव घटाउने विश्वास लिइएको छ।

अन्तर्राष्ट्रिय समुदायलाई प्रतिनिधिसभा सदस्य निर्वाचनबारे जानकारी गराउने उद्देश्यले परराष्ट्र मन्त्रालयको समन्वयमा काठमाडौँस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र संघीय निकायका प्रमुख र प्रतिनिधिहरूलाई ब्रिफिङ गरिएको छ। कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा निर्वाचन वातावरण, तयारी, तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय पर्यवेक्षणसम्बन्धी जानकारी प्रदान गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com