काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक सहमति हुनेमा आफू आशावादी रहेको बताएका छन्। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकाले युद्ध सुरु गरे त्यसले सम्पूर्ण क्षेत्रमा फैलिने युद्धको रूप लिने चेतावनी दिएको केही घण्टापछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो।
फ्लोरिडास्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले मध्यपूर्व क्षेत्रमा अमेरिकाले शक्तिशाली सैन्य साधन तैनाथ गरेको स्वीकार गरे पनि आफ्नो पहिलो प्राथमिकता कूटनीतिक समाधान नै रहेको स्पष्ट पारे। उनले सम्झौता हुन नसके खामेनेईको चेतावनी कति सही थियो भन्ने कुरा समयमै प्रस्ट हुने बताए।
“हाम्रा विश्वकै सबैभन्दा शक्तिशाली युद्धपोतहरू त्यहाँ नजिकै तैनाथ छन्। केही दिनभित्रै सम्झौता हुने आशा छ। यदि सम्झौता भएन भने, उनले भनेको कुरा सही थियो कि थिएन, त्यो आफैं स्पष्ट हुनेछ,” ट्रम्पले भने।
यसअघि इरानका सर्वोच्च नेता खामेनेईले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अमेरिकालाई सैन्य कारबाही नगर्न कडा चेतावनी दिएका थिए। अमेरिकाले युद्ध थाल्यो भने त्यो सीमित नहुने र सम्पूर्ण क्षेत्र नै युद्धको चपेटामा पर्ने उनको भनाइ थियो। युद्धपोत र लडाकु विमानको उपस्थितिले इरानी जनता नडराउने उल्लेख गर्दै उनले इरानमाथि आक्रमण भए कडा र निर्णायक जवाफ दिइने चेतावनी दिएका छन्।
खामेनेईले इरान कहिल्यै युद्धको सुरुवातकर्ता नहुने तर आफ्नो सार्वभौमिकता र सुरक्षामाथि आक्रमण भए कुनै सम्झौता नगरी जवाफ दिने बताए। उनले अमेरिका इरानका तेल, ग्यास, खनिज स्रोत र रणनीतिक भौगोलिक अवस्थाका कारण प्रभुत्व जमाउन खोजिरहेको आरोप समेत लगाए। विगतमा अमेरिकाले इरानको राजनीति, सुरक्षा र स्रोतसाधनमाथि प्रभाव जमाएको तर अहिले त्यो नियन्त्रण कमजोर भएपछि पुनः प्रभाव जमाउने प्रयास भइरहेको उनको दाबी छ।
यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले अमेरिका–इरानबीच वार्ताको तयारी अघि बढिरहेको बताएका छन्। सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया जनाउँदै उनले सञ्चारमाध्यममा देखाइएका हल्लाभन्दा फरक ढंगले वार्तासम्बन्धी संरचनात्मक तयारीहरू अघि बढिरहेको उल्लेख गरेका छन्, यद्यपि वार्ताको ढाँचा र समयबारे कुनै ठोस विवरण दिएका छैनन्।
अमेरिकाले हाल यूएसएस अब्राहम लिंकनको नेतृत्वमा ठूलो नौसैनिक समूह इरान नजिकै तैनाथ गरेको छ। राष्ट्रपति ट्रम्पले यसअघि पनि इरान वार्तामा आउन इच्छुक रहेको दाबी गर्दै आणविक हतियारसम्बन्धी छलफलका लागि समयसीमा तोकिएको बताएका थिए, तर सो समयसीमा सार्वजनिक गरिएको छैन। अमेरिका र इरानबीच तनाव कायम रहे पनि दुवै पक्षले कूटनीतिक समाधानको सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरेका छैनन्।
प्रकाशित मिति: १९ माघ २०८२, सोमबार













प्रतिक्रिया