काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले प्रहरी सङ्गठनलाई कुनै पनि किसिमको राजनीतिक प्रभाव, दबाब वा पूर्वाग्रहमा नपरी कानुनको मर्म र भावना अनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्न स्पष्ट निर्देशन दिएकी छन्।
सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम (१८३औँ समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीको भूमिका निर्णायक हुने बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “आगामी निर्वाचन नेपाली लोकतन्त्रको उदाहरणीय अभ्यास बन्नुपर्छ। निर्वाचनका क्रममा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना पनि नागरिक घाइते हुनुहुँदैन।” उनले निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई पूर्ण व्यावसायिकता, संयमता र निष्पक्षता अपनाउन आग्रह गरिन्।
कर्तव्य पालनाका क्रममा प्रहरीबाट हुने व्यावसायिक कार्यको सम्पूर्ण जिम्मेवारी राज्यले लिने स्पष्ट पार्दै प्रधानमन्त्री कार्कीले प्रहरीको वास्तविक शक्ति हतियार वा बल प्रयोगमा नभई कानुन, आचरण र नैतिकतामा निहित हुने उल्लेख गरिन्।
“प्रहरीको शक्ति लाठ्ठीमा होइन, विवेकमा हुन्छ। कठिन र संवेदनशील परिस्थितिमा पनि संयम, न्याय र कानुनी बाटो अवलम्बन गर्न सक्ने प्रहरी नै साँचो अर्थमा नेपाल प्रहरी हो,” प्रधानमन्त्री कार्कीले भनिन्।
उनले विगतमा भएका कमजोरी नदोहो¥याउन र प्रहरी संस्थालाई अझ व्यावसायिक, जनमुखी, उत्तरदायी र लोकतान्त्रिक बनाउन नवनियुक्त प्रहरी अधिकृतहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा राखिन्।
प्रधानमन्त्री कार्कीले चुनौती र आलोचनाबीच पनि नेपाल प्रहरीले पछिल्लो समय आफूलाई पुनःसंयोजन गर्दै अझ सुदृढ, व्यवस्थित र विश्वसनीय संस्थाका रूपमा स्थापित गर्न थालेको उल्लेख गरिन्।
भदौ २३ र २४ गतेको आन्दोलनपछि प्रहरी र समुदायबीचको सम्बन्ध अझ मजबुत बनेको उल्लेख गर्दै उनले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी संरचना स्थानीय समुदायले तत्काल पुनःनिर्माण गरिदिनु विश्वास र सहकार्यको प्रत्यक्ष उदाहरण भएको बताइन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्रहरी निरीक्षकहरूलाई संविधानले प्रत्याभूत गरेका नागरिक अधिकारको संरक्षण गर्दै जिम्मेवार, उत्तरदायी र जवाफदेही भएर कार्यसम्पादन गर्न निर्देशन दिए।
प्रकाशित मिति: १९ माघ २०८२, सोमबार













प्रतिक्रिया