वासिङ्टन डिसी। अमेरिकी खर्बपति व्यापारी एलन मस्कको रकेट कम्पनी स्पेसएक्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप एक्सएआई किन्ने भएको छ । स्पेसएक्सले आफ्नो वेबसाइटमा मस्कको आन्तरिक मेमो सार्वजनिक गर्दै दुई कम्पनीको गाभिने प्रक्रिया पुष्टि गरेको छ ।
मस्कले मेमोमा भनेका अनुसार यस एकीकरणले नवप्रवर्तन इन्जिन निर्माण गर्ने उद्देश्य राखेको छ । नयाँ कम्पनीले एआई, रकेट प्रविधि, स्याटेलाइट इन्टरनेट र डिजिटल मिडियालाई एउटै छातामुनि समेट्नेछ । सम्झौताको औपचारिक मूल्य भने सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार, एक्सएआईको मूल्याङ्कन करिब १ खर्ब २५ अर्ब डलर र स्पेसएक्सको करिब १० खर्ब डलर रहेको छ । यो अधिग्रहणपछि स्पेसएक्स विश्वकै सबैभन्दा मूल्यवान् निजी कम्पनीमध्ये एक बन्नेछ ।
यसअघि टेस्लाले एक्सएआईमा करिब २ अर्ब डलर लगानी गरेको थियो । एक्सएआईको प्रविधि टेस्लाका स्वचालित रोबोट कारखानालाई अर्केस्ट्रा कन्डक्टरजस्तै समन्वय गर्न सक्षम छ भन्ने मस्कले बताएका थिए । यद्यपि, केही शेयरधनीले टेस्लाको स्रोत मस्कको अर्को कम्पनीमा सारिएको भन्दै विरोध गरेका थिए ।
विश्लेषक एमिली झेङका अनुसार, यो अधिग्रहण स्पेसएक्सको सम्भावित आईपीओ तयारीसँग जोडिएको देखिन्छ । उच्च कम्प्युटिङ, ऊर्जा र पूर्वाधार लागतका कारण ठूला टेक कम्पनीहरू अहिले सार्वजनिक बजारतर्फ अघि बढिरहेका छन् । मस्कले दीर्घकालीन दृष्टिमा स्पेस–आधारित एआई मात्र वास्तविक रूपमा विस्तारयोग्य हुने दाबी गरेका छन् भने एआई स्याटेलाइट प्रक्षेपणलाई तत्काल प्राथमिकतामा राखिने बताए ।
प्रकाशित मिति: २० माघ २०८२, मंगलबार













प्रतिक्रिया