काठमाडौं। एलपी ग्यास अभावको चर्चा निराधार भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले स्पष्ट पारेका छन्। पछिल्लो समय बजारमा ग्यास अभाव भएको भन्दै फैलिएको हल्लामा विश्वास नगर्न उनले आग्रह गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै भट्टले एलपी ग्यासको आपूर्ति सहज र पर्याप्त रहेको जानकारी दिएका छन्। उनका अनुसार दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास नियमित रूपमा नेपाल भित्रिरहेको छ।
उनले बताएअनुसार नेपालमा प्रतिदिन करिब ९० बुलेट, अर्थात् करिब १ लाख १४ हजार सिलिण्डर एलपी ग्यास आवश्यक पर्छ। तर पछिल्ला तीन दिनमा भारतीय आयल कर्पोरेशन (आईओसी) बाट आवश्यकताभन्दा बढी मात्रामा ग्यास लोडिङ गरिएको छ।
लोडिङ विवरणअनुसार शनिबार ११८ बुलेट (करिब १ लाख ४९ हजार ५ सय सिलिण्डर), सोमबार ११५ बुलेट (करिब १ लाख ४५ हजार ७ सय सिलिण्डर) र मंगलबार १३२ बुलेट (करिब १ लाख ६७ हजार ३ सय सिलिण्डर) एलपी ग्यास लोड गरिएको छ। तीमध्ये केही बुलेटहरू नेपालतर्फ आउने क्रममा छन् भने केही बाटोमै रहेका छन्।
यस आधारमा उपभोक्तालाई अनावश्यक रूपमा एलपी ग्यास संकलन नगर्न आग्रह गर्दै उनले निर्वाचन अवधिभर पनि हालकै परिमाणमा ग्यास आपूर्ति निरन्तर जारी रहने स्पष्ट पारेका छन्।
प्रकाशित मिति: २१ माघ २०८२, बुधबार













प्रतिक्रिया