काठमाडौं । नेपाली कांग्रेसले झापा–५ मा कुनै पनि दलसँग चुनावी तालमेलको सम्भावना नरहेको स्पष्ट पारेको छ।
एमालेसँग चुनावी तालमेलको चर्चा चल्न थालेपछि कांग्रेस झापा–५ का क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत कपोकल्पित सूचना फैलाएर मतदाता भ्रममा पार्ने प्रयास भइरहेको बताएका छन्। उनले गलत मनशाय भएका व्यक्तिहरूले अफवाह फैलाइरहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले निर्वाचनअघि कुनै पनि दलसँग गठबन्धन नहुने कुरा सार्वजनिक रूपमा स्पष्ट गरिसक्नुभएको छ। सो प्रतिबद्धतामा कांग्रेस अडिग छ भन्ने कुरा स्मरण गराउन चाहन्छौँ।” साथै कांग्रेसका शुभेच्छुक र कार्यकर्ताहरूलाई कुनै पनि भ्रममा नपर्न र अफवाहको पछि नलाग्न आग्रह गरिएको छ।
कांग्रेसले झापा–५ का मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न र कपोकल्पित हल्लालाई बेवास्ता गर्न अनुरोधसमेत गरेको छ। सो क्षेत्रमा कांग्रेसले मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ।
झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह तथा नेकपाका रञ्जित तामाङबीच पनि चुनावी प्रतिस्पर्धा रहेको छ।
प्रकाशित मिति: २१ माघ २०८२, बुधबार












प्रतिक्रिया