काठमाडाैं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई भारतमा पुर्याई बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार कल्याणपुर नगरपालिका–७ का २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ का २२ वर्षीय प्रशान्त चौधरीलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार अभियुक्तद्वयले कल्याणपुर नगरपालिका–७ कै रिशकेशकुमार मरिकलाई भारतको गयामा राम्रो काम लगाइदिने भन्दै प्रलोभनमा पारेका थिए। उनीहरू गत पुस २० गते मरिकलाई भारत पुर्याएपछि मोबाइल फोन र शैक्षिक प्रमाणपत्र खोसी एक होस्टलमा बन्धक बनाएको पीडितको भनाइ छ।
बन्धक बनाएर कुटपिट गर्ने तथा ज्यान मार्ने धम्की दिँदै पीडितको परिवारसँग फिरौती रकम असुल गरिएको प्रहरीले जनाएको छ। अभियुक्तहरूले पीडितको परिवारबाट २ लाख १७ हजार २०० रुपैयाँ र मरिकको साथबाट ३० हजार भारतीय रुपैयाँ असुलेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २१ माघ २०८२, बुधबार













प्रतिक्रिया