काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ पठाएको छ। निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछि ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन सुरु गरिएको विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो।

महानगरले पठाएको जवाफमा ७० वर्ष माथिका नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा दिने कार्यक्रम वार्षिक बजेटबाट स्वीकृत कार्यक्रम भएको स्पष्ट पारेको छ।

advertisement

महानगरको जवाफमा उल्लेख छ, “यस महानगरपालिका नगरसभाको १७ औँ अधिवेशनबाट आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको क्रमसंख्या ७७१ अन्तर्गत ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम स्वीकृत भएको व्यहोरा अनुरोध छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) अनुसार वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत बाहेक नयाँ नीति, योजना वा कार्यक्रम घोषणा वा सञ्चालन गर्न नपाइने व्यवस्था छ। तर स्वीकृत कार्यक्रम भएकाले सो सेवा निर्वाचन आचारसंहिताअनुसार नै सञ्चालन भइरहेको महानगरको भनाइ छ।

महानगरले वार्षिक बजेटबाट स्वीकृत कार्यक्रम भएकाले आचारसंहिताको उल्लङ्घन नभएको स्पष्ट पार्दै कार्यक्रम निरन्तर अगाडि बढाइएको जनाएको छ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com