काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लक्षित चुनावी प्रचारको तयारी सुरु गरेको छ। पार्टीले फागुन ७ गते जनकपुरमा मधेस सभा गरेर प्रचारप्रसारको सुरुवात गर्ने तयारी गरेको छ।

निर्वाचन आयोगले प्रचारप्रसारका लागि फागुन ४ देखि १८ गतेसम्म समय तोकेको छ। सो अवधिमा हुने सभाहरूमा कांग्रेसले वक्ता समेत तोकेको छ। यसपटक कांग्रेसका सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार केन्द्रीय कार्यसमितिबाट घोषणा गरिएको छ। त्यसैले सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा प्रमुख चुनावी वक्ता हुनेछन्।

advertisement

सहमहामन्त्री डा. डिला संग्रौला पन्तले भने, भावी प्रधानमन्त्रीका उम्मेदवार तथा पार्टी सभापति थापा र निर्वाचन परिचालन समिति संयोजक उपसभापति शर्मा देशभरका प्रमुख सभामा वक्ताका रूपमा रहनेछन्। उपसभापति शर्मा त देशभरि हुने सभामा जाने योजना बनाइएको छ।

कांग्रेसले सभापति थापा र उपसभापति शर्मालाई देशभर चुनावी सभामा दौडाउने तयारी गर्दै आएको छ। पार्टी केन्द्रीय कार्यालयले यसबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको छ। अन्य वक्ता स्थान अनुसार फरक–फरक हुने प्रवक्ता देवराज चालिसेले बताए।

सभापति थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। उनले पुरानो निर्वाचन क्षेत्र काठमाडौं–४ छोडेर नयाँ क्षेत्र मधेसमा प्रवेश गरेका छन्। त्यसैले अन्य स्थानका सभामा उनी कति उपस्थित हुन पाउँछन्, त्यो हाल निश्चित छैन। थापासँग प्रतिस्पर्धा गर्नेमा पुराना सहयात्री तथा स्वतन्त्र उम्मेदवार बनेका डा. अमरेशकुमार सिंह रहेका छन्।

उपसभापति शर्मा यसपटक निर्वाचन नलड्ने निर्णय गरेका छन्। २०७९ मा झापा–१ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका शर्माले देशभर चुनावी प्रचारमा जाने र पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय रूपमा लाग्ने बताएका छन्।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com