काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार तय गरिएका वरिष्ठ नेता बालेन शाह फागुनको पहिलो हप्तादेखि संयुक्त रूपमा देश दौडामा निस्कने भएका छन्।

यसअघि बालेन शाह कोशी प्रदेशका तराई तथा पहाडी जिल्लाको भ्रमणपछि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लामा पुगेका थिए। त्यसपछि पुनः झापा फर्किएर आफ्नो निर्वाचन क्षेत्र झापा–५ का मतदातासँग भेटघाट गरेका उनी कोशी प्रदेशकै पहाडी जिल्ला उदयपुर र खोटाङ पुगेका छन्। हाल उनी त्यहीँ रहेर पार्टीका उम्मेदवार, निर्वाचन परिचालन समितिका पदाधिकारी, सदस्य तथा मतदातासँग भेटघाटमा सक्रिय छन्। उनी केही दिन यस्तै कार्यक्रममै व्यस्त रहनेछन्।

advertisement

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार फागुनको पहिलो हप्तादेखि सभापति लामिछाने र वरिष्ठ नेता शाह संयुक्त रूपमा देश दौडामा निस्कने तयारी गरिएको छ।
“कम्तीमा सातै प्रदेशमा ठूला सभा गर्ने गरी तयारी भइरहेको छ,” रावलले भनिन्। उनका अनुसार उपसभापति डीपी अर्यालले कार्यक्रमको संयोजन गरिरहेका छन् भने सभा हुने स्थान भने अझै तय भइसकेको छैन।

यसैबीच सभापति रवि लामिछाने आज आफ्नो निर्वाचन क्षेत्र चितवन जाने भएका छन्। उम्मेदवारी दर्ताका दिन सहकारी सम्बन्धी मुद्दामा तारेखमा उपस्थित हुनुपर्ने भएकाले उनले वारेसमार्फत उम्मेदवारी दर्ता गरेका थिए। त्यसपछि खुट्टामा समस्या देखिएपछि केही समय घरमै आराम गरिरहेका लामिछाने आजबाट पुनः चुनावी अभियानमा सक्रिय हुन लागेका हुन्।

रावलका अनुसार लामिछाने आज बिहान ११ः१५ बजे चितवन प्रस्थान गर्नेछन्। दिउँसो १२ः१५ बजे भरतपुर–लंकुस्थित लक्ष्मीनारायण मन्दिरमा पूजा गर्ने उनको कार्यसूची रहेको छ।

रास्वपाले चितवन–२ को चुनावी प्रयोजनका लागि भरतपुर–११ विशालचोकस्थित एक घर भाडामा लिएको छ। उक्त निवासमा आज गृहप्रवेश गर्ने कार्यक्रम पनि तय गरिएको छ।

दिउँसो २ बजेपछि सोही निवासमा निर्वाचन परिचालन समिति, अन्य उम्मेदवार, नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यसूची रहेको रावलले जानकारी दिइन्।

प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com