काठमाडौं । रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट चार वर्षीया बालिकाको निधन भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गहिरो दुःख व्यक्त गरेको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त घटनाले पार्टीलाई अत्यन्तै स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन्। उनले मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
विज्ञप्तिमा रास्वपाले घटनालाई गम्भीर रूपमा लिँदै वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, कानुनी प्रक्रिया पूरा गर्दै पीडित परिवारलाई न्याय दिलाउने विषयमा कुनै कसर बाँकी नराखिने उल्लेख गरिएको छ।
पीडित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउन पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको पनि विज्ञप्तिमा जनाइएको छ।
यसैबीच, रास्वपाले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनको परिचालनमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। उम्मेदवार, पार्टीका नेता–कार्यकर्ता तथा सवारी चालकलाई सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राखी जिम्मेवार ढंगले काम गर्न कडा निर्देशन जारी गरिएको पार्टीले जनाएको छ।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार













प्रतिक्रिया