काठमाडाैं । पर्सामा मोटरसाइकल पार्किङको विषयलाई लिएर भएको झडपमा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान वीरगन्ज महानगरपालिका–१३ मा मोटरसाइकल पार्किङलाई लिएर उत्पन्न विवादपछि भएको धकेलाधकेलमा परी स्थानीय केपीचन्द राउत गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार मृतक राउतले आफ्नो घर अगाडि मोटरसाइकल पार्क नगर्न आग्रह गरेपछि विवाद सुरु भएको थियो। विवाद चर्किँदै जाँदा भएको झडपमा उनी गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–२३ प्रसौनी निवासी अर्जुन यादवले राउतको घर अगाडि जबरजस्ती मोटरसाइकल पार्क गर्न खोज्दा विवाद उत्पन्न भएको हो। घटनामा संलग्न अर्जुन यादवलाई प्रहरीले पक्राउ गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार













प्रतिक्रिया