काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म २५ वटा घटकलाई एकताबद्ध गराइसकेको बताएका छन्।
नेकपाको निर्वाचन परामर्श कार्यक्रममा बोल्दै उनले देशका अधिकांश क्षेत्रमा पार्टीले चुनाव जित्ने वातावरण बन्ने संकेत देखिएको बताए। प्रचण्डले पार्टी पहिलो हुने सम्भावना देखिएको पनि जिकिर गरे।
उनले रास्वपा र अन्य नयाँ राजनीतिक समूहलाई लक्षित गर्दै, नयाँ भन्नेहरूसँग कुनै स्पष्ट विचार वा सिद्धान्त नभएको उल्लेख गरे। प्रचण्डले भने, “नयाँ र पुरानोको कुरा गरेका छन्। के हो नयाँ? नयाँ वा पुरानो भन्ने निधो विचार र एजेन्डाले गर्छ। गणतन्त्र भन्दा नयाँ विचार देशमा कसैले ल्याएको छ? नयाँ भनेको गणतन्त्र हो, त्यसैले सबैभन्दा नयाँ नेकपा हो। सबैलाई पहिचान र अधिकार दिनेभन्दा नयाँ नारा के छ?”
उनले नेकपालाई पुरानै कित्तामा राखेको उल्लेख गर्दै रास्वपा सबैभन्दा पुरानो भएको दाबी पनि गरे।
प्रचण्डले थपे, “तपाईंहरू उदार पूँजीवाद र दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने? त्यसैले हामी भन्छौं नयाँ हामी हौं। गणतन्त्र र सङ्घीयता भन्दा नयाँ अरू केही छैन। देशको नेतृत्व अब हामीले गर्ने हो भन्ने आत्मसाथका साथ भन्न सक्नुपर्छ।”
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार













प्रतिक्रिया