काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आन्तरिक विषयहरूले प्रभाव पार्न नहुने बताएका छन्। नुवाकोट–१ बाट कांग्रेसका उम्मेदवार रहेका महतले शनिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्।
पार्टीभित्र उतारचढाव स्वाभाविक हुने उल्लेख गर्दै उनले आन्तरिक विवादले आम निर्वाचनमा नकारात्मक असर पार्न नहुने बताए। ‘पार्टीको जीवनमा उथलपुथल आउँछ, कहिले कोही माथि पर्छ, कहिले तल पर्छ,’ उनले भने, ‘तर यस्ता विषयहरूले निर्वाचन लड्ने क्रममा प्रभाव पार्न हुँदैन।’
पार्टीभित्रका समस्याका कारण पार्टी र देशकै भविष्य संकटमा पर्न नहुने उनको भनाइ थियो। वर्तमान अवस्थामा देश कठिन मोडमा रहेको उल्लेख गर्दै उनले निर्वाचनबाट कांग्रेस अझ सशक्त रूपमा अगाडि आउनुपर्ने आवश्यकता औंल्याए।
देशका संरचनाहरूलाई ध्वंस गर्दै राज्यलाई असफल बनाउने प्रयास भएको आरोप लगाउँदै डा. महतले त्यसबाट खर्बौँको प्रत्यक्ष क्षति भएको बताए। ‘राज्यका संरचना ध्वंस गरेर असफल पार्ने प्रयास गरिएको छ र त्यसलाई गर्वका रूपमा प्रस्तुत गरिएको छ,’ उनले भने, ‘यस्तो अवस्थाबारे सही कुरा जनतालाई स्पष्ट रूपमा बताउनु हाम्रो जिम्मेवारी हो।’
प्रकाशित मिति: २४ माघ २०८२, शनिबार













प्रतिक्रिया