काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीति चुनावी माहोलमा दक्षिण भारतीय फिल्मजस्तो नहुने टिप्पणी गरेका छन्। काठमाडौंमा वित्तीय संस्था कर्मचारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नयाँ भनिएका दलहरूको स्पष्ट दिशा र संरचना नदेखिएको आरोप लगाए।

डा. महतले नयाँ पार्टीहरूबारे व्यंग्य गर्दै नेतृत्व र कार्यदिशाबारे नै अन्योल रहेको बताए। ‘अहिले नयाँ पार्टी भनेर आयो, उनीहरूको पुच्छर कहाँ छ, शिर कहाँ छ थाहा छैन,’ उनले भने, ‘कुन दुलोबाट बाहिर निस्किन्छन्, कुन दुलोबाट भित्र पस्छन्, त्यो पनि थाहा छैन।’

advertisement

दक्षिण भारतीय सिनेमाको उदाहरण दिँदै उनले भर्चुअल र वास्तविक संसारबीचको भिन्नता बुझ्नुपर्ने उल्लेख गरे। ‘फिल्ममा एउटै हिरोले ५० जनालाई एकैचोटि हावामा उडाएर पछार्छ,’ उनले भने, ‘तर त्यो भर्चुअल दुनियाँ हो। रियल दुनियाँमा त्यस्तो सम्भव हुँदैन। हामी रियल दुनियाँमा बाँचिरहेका छौँ।’

सामाजिक सञ्जालमार्फत झुटा प्रचार भइरहेको भन्दै उनले गलतलाई गलत भन्न सक्ने साहस आवश्यक रहेको बताए। साथै, पार्टीभित्रका आन्तरिक विषयलाई थाती राख्दै निर्वाचनमा केन्द्रित हुन उनले पार्टीपंक्तिलाई आग्रह गरे।

लोकतन्त्र र देशको स्थायित्व खतरामा पर्न सक्ने चेतावनी दिँदै डा. महतले सबै लोकतन्त्र पक्षधर उम्मेदवारहरू जिम्मेवार हुनुपर्ने बताए। ‘देशलाई कमजोर बनाउने प्रवृत्ति हाबी हुँदै गएको छ, यो खतराको घन्टी हो,’ उनले भने, ‘यसलाई गहिरिएर मनन गर्न जरुरी छ।’

देशमा स्थिरता र विधिको शासन आवश्यक रहेको उल्लेख गर्दै उनले संविधानमा देखिएका कमजोरी सुधार गर्न नेपाली कांग्रेसको सशक्त उपस्थिति संसद् र सरकारमा अनिवार्य रहेको बताए। ‘कांग्रेस पहिलो र मजबुत पार्टी बन्नुपर्छ,’ उनले भने, ‘पार्टीभित्रका प्रश्नहरू हामी आन्तरिक रूपमा समाधान गर्दै जान्छौँ, त्यसमा बाहिरबाट अनावश्यक चिन्ता लिनु पर्दैन।’

प्रकाशित मिति: २४ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com