काठमाडौं । जिल्ला निर्वाचन कार्यालय काठमाडौँले राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न अनुरोध गरेको छ । निर्वाचन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै सो आग्रह गरेको हो ।
जारी सूचनामा भनिएको छ : ‘आचारसंहिताको यो व्यवस्था पूर्ण पालना गर्नका लागि पटक पटक छलफल, अन्तरक्रिया र सूचना प्रकाशन गरी जानकारी गराइसकिएको भएता पनि कतिपय राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारहरूले उक्त व्यवस्थाका उल्लङ्घन गरी कोणसभा गर्ने, प्रचार प्रसार सामग्री प्रकाशन प्रसारण गर्ने र घरदैलो कार्यक्रम गरी मतदाताहरूलाई प्रभाव पार्ने काम गरिरहेको भन्ने जानकारी प्राप्त भएको हुँदा यस प्रकारका कार्य नगर्न नगराउन हुन अनुरोध छ ।’
साथै कोही कसैबाट अचारसंहिताको उल्लङ्घन गरी कुनै पनि तरिकाले प्रचार प्रसार गरेको प्रमाण प्राप्त भएमा प्रचलित कानुन बमोजिम कारबाही हुने समेत निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयले सामाजिक सञ्जाल र केही अनलाइनहरुले समेत आचारसंहिता विपरीतका समाचार प्रकाशित गरेको पाइएको जनाउँदै त्यस्ता कार्य रोक्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: २४ माघ २०८२, शनिबार












प्रतिक्रिया