काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीहरुलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल राख्न सचेत गराएको छ।
प्राधिकरणका सह–निर्देशक नारायणप्रसाद आचार्यका अनुसार, प्राधिकरणमा कार्यरत सबै कर्मचारीले कर्मचारी सेवा, सर्त र नियमावलीमा उल्लेखित आचरण सम्बन्धी व्यवस्थाको पालना गर्नु अनिवार्य छ।
पछिल्लो समय सामाजिक सञ्जालमा तथ्य पुष्टि नभएका, काल्पनिक र संस्थाको प्रतिष्ठामा असर पुर्याउने खालका पोस्ट, प्रतिक्रिया वा कार्यालयका पत्रहरू समेत सार्वजनिक गर्ने प्रवृत्ति बढेको भन्दै प्राधिकरणले आपत्ति जनाएको छ। यसप्रकारको प्रवृत्ति निरुत्साहित गरी सामाजिक सञ्जालको प्रयोग मर्यादित, व्यवस्थित र रचनात्मक बनाउन सबैको सकारात्मक भूमिका आवश्यक रहेको आचार्यले बताए।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा, सर्त तथा नियमावली २०७५ अनुसार, कार्यालयको पत्र वा अन्य अनावश्यक पोस्ट सामाजिक सञ्जालमा राख्नु वा प्रतिक्रिया दिनु आचरणको उल्लङ्घन मानिनेछ। आवश्यक परेमा त्यस्ता कर्मचारीहरूको विवरण संकलन गरी नियमावली अनुसार विभागीय कारबाही पनि गरिने सूचनामा स्पष्ट पारिएको छ।
प्रकाशित मिति: २५ माघ २०८२, आइतबार













प्रतिक्रिया