काठमाडौं । नेपाली कांग्रेसले पार्टी संगठनलाई बलियो बनाउन र निर्वाचन केन्द्रित गतिविधि तीव्र पार्न देशभरका नेता तथा कार्यकर्तालाई आफ्नै क्षेत्रमा सक्रिय बनाउने निर्णय गरेको छ। पार्टीले ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने अभियानमार्फत जिम्मेवारीबाहेकका सबै नेता–कार्यकर्तालाई आफ्नो क्षेत्रमै परिचालित गर्ने नीति लिएको हो।
आइतबार बिहान सम्पन्न कार्यसम्पादन समितिको भर्चुअल बैठकले नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिकाअनुसार केन्द्र, प्रदेश, जिल्ला तथा क्षेत्रीय तहमा जिम्मेवारी पाएकाहरूलाई आफ्नो तोकिएको कार्य पूरा गरी सम्बन्धित क्षेत्रमै फर्कन निर्देशन दिएको छ। पार्टीले “जसको जिम्मेवारी जहाँ, सक्रियता पनि त्यहीं” भन्ने सिद्धान्तलाई कडाइका साथ लागू गर्ने जनाएको छ।
यस अभियान अन्तर्गत पार्टीका सम्पूर्ण संरचनालाई निर्वाचनको मैदानमा उतार्ने लक्ष्य राखिएको छ। कांग्रेसले एउटै वडाको क्रियाशील सदस्य अर्को वडा वा फरक क्षेत्रमा गई पार्टी गतिविधि नगर्न अनुरोध गरेको छ। यसले संगठनात्मक अनुशासन कायम राख्ने र स्थानीय स्तरमै प्रभावकारी परिचालन सुनिश्चित गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ।
साथै, भ्रातृ संगठन र शुभेच्छुक संस्थामा आवद्ध नेता तथा कार्यकर्तालाई पनि आफ्नै क्षेत्र फर्केर सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ। कांग्रेसका अनुसार, यस अभियानले संगठनभित्र एकता मजबुत बनाउने, जनसम्पर्क विस्तार गर्ने र फागुन २१ लाई केन्द्रमा राखेर निर्वाचन तयारीलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २५ माघ २०८२, आइतबार













प्रतिक्रिया