काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। सोमबार बिहान तराईका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी क्षेत्रको मौसम भने मुख्यतया सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो कायम रहनेछ। दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी र हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।
महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
सोमबार राति पनि तराईका केही स्थानमा हुस्सु लागिरहनेछ। रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
प्रकाशित मिति: २६ माघ २०८२, सोमबार













प्रतिक्रिया