काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ललितपुर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले रुपान्तरित कांग्रेसप्रति मतदाता आशावादी देखिएको बताएका छन्।
लामो समयदेखि ललितपुरबासीका लागि काम गर्दै आएको दाबी गर्दै उनले आफूले बहुसंख्यक मतदाताको समर्थन पाउने विश्वास व्यक्त गरे। ‘ललितपुर–२ का मतदाताबाट मैले लामो समयदेखि माया पाउँदै आएको छु,’ उनले भने, ‘गगन थापा सभापति बनेपछि जेन–जीदेखि ६० वर्षमाथिसम्मका पुस्ता उत्साहित देखिन्छन्। उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिएपछि कांग्रेसप्रति आशा बढेको मैले प्रत्यक्ष महसुस गरेको छु।’
कांग्रेसले विगत ३५ वर्षमा केही नगरेको भन्ने धारणा फैलिएको स्वीकार्दै उनले भने, ‘त्यो अवधिमा करिब पाँच वर्ष मात्रै कांग्रेसले सरकारको नेतृत्व गरेको हो। ललितपुर–२ मा कांग्रेसले एक पटक मात्र अवसर पाएको छ। त्यसपछि अधिकांश समय कम्युनिष्टहरूले प्रतिनिधित्व गरेका छन्। तर कांग्रेसले पाएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेको छ।’
पछिल्ला वर्षमा उदाएका वैकल्पिक वा नयाँ दलप्रति कांग्रेस गम्भीर रहेको उल्लेख गर्दै महर्जनले चुनाव गराउने जिम्मेवारीमा रहेका मन्त्री स्वयं चुनावी मैदानमा उत्रनु मतदाताका लागि अस्वाभाविक भएको प्रतिक्रिया आएको बताए। ‘गणतन्त्र, बहुदलीय व्यवस्था र अभिव्यक्ति स्वतन्त्रता पुराना दलकै नेतृत्वमा सम्भव भएको हो,’ उनले भने, ‘व्यवस्था जोगाउन मतदाता सचेत छन्।’
ललितपुर–२ मा ८९ हजारभन्दा बढी मतदाता रहेको जानकारी दिँदै उनले इमाडोल र टीकाथली क्षेत्रमा देखिएको खानेपानी समस्याको समाधान आफ्नो प्राथमिकतामा रहेको बताए। खोला किनारका बस्तीको सुरक्षा, नदी तथा वस्ती व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको उनले स्पष्ट गरे।
महालक्ष्मी नगरपालिका अन्तर्गत लामाटार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरी होमस्टे प्रवर्द्धन गर्ने, महानगरका वडाहरूमा ह्याण्डीक्राफ्ट उद्योगलाई विस्तार गर्ने र मौलिक तथा परम्परागत उत्पादनको सहज निर्यातका लागि भूमिका खेल्ने उनको योजना छ। साथै, मूर्त–अमूर्त सम्पदाको संरक्षणमा विशेष काम गर्ने उनले बताए।
ललितपुरको रातो मच्छिन्द्रनाथ रथयात्रामा विदेशी पर्यटकलाई समेत सहभागी गराउने विषयमा जोड दिँदै महर्जनले सार्वजनिक खरिद ऐनका कारण स्थानीय व्यवसायमा देखिएका जटिलता समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेवारी समुदायले सञ्चालन गर्दै आएका गुठीहरूको संरक्षण र व्यवस्थापनको अधिकार स्थानीयमै हुनुपर्ने उनको धारणा छ। खोला किनारको समस्या समाधानमा आफूले ०२१ सालको नक्सा फिर्ता गराएर सहजीकरण गरेको दाबी पनि उनले गरे।
नेपाली कांग्रेसको इतिहास गौरवपूर्ण रहेको उल्लेख गर्दै महर्जनले १२–१३ वर्षको उमेरदेखि नै सामाजिक काममा सक्रिय रहेको बताए। ‘लाभको कुनै पद नलिए पनि समाजका लागि निरन्तर काम गर्दै आएको छु,’ उनले भने, ‘प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए थप जिम्मेवारीका साथ अझ बढी योगदान गर्न सक्छु भन्नेमा विश्वस्त छु।’
प्रकाशित मिति: २६ माघ २०८२, सोमबार












प्रतिक्रिया