काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको पूर्वाधार विकास सुस्त हुनुको मूल कारण सतही कमजोरी होइन, प्रणालीगत समस्या भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत जारी भिडिओ सन्देशमा उनले ठेकेदारलाई तर्साउने, आयोजना स्थलमा पुगेर निर्देशन दिने वा कर्मचारीलाई गाली गर्ने ‘जादु–टुना’ शैलीले विकास सम्भव नहुने स्पष्ट पारे। ताली पाइए पनि यसले समस्याको समाधान नदिने भन्दै लक्षणमा होइन, जरामा पुगेर उपचार गर्नुपर्ने उनको भनाइ छ।
थापाले नारायणगढ–बुटवल सडक खण्ड, पूर्व–पश्चिम राजमार्ग र मेलम्ची खानेपानी आयोजनाजस्ता राष्ट्रिय गौरवका आयोजनाहरूको दुरावस्थालाई उदाहरण दिँदै विकासको परम्परागत शैली अब काम नलाग्ने बताए। सडक बनेपछि पटक–पटक खानेपानी, ढल र फाइबरका लागि खन्ने प्रवृत्तिले लागत बढ्नुका साथै देशले ठूलो अवसर गुमाइरहेको उनको भनाइ छ।
४८ वर्ष पुरानो सडक ऐन र २० वर्ष पुरानो सार्वजनिक खरिद ऐन आजको आवश्यकता अनुरूप नभएको उल्लेख गर्दै थापाले पूर्वाधार समयमै सम्पन्न गर्न करिब तीन दर्जन कानुन संशोधन, परिमार्जन वा खारेज गर्नुपर्ने अध्ययनले देखाएको जानकारी दिए।
कानुनी र संस्थागत सुधारबिनाको हल्लाले परिणाम नआउने भन्दै उनले अब चाबुक देखाउने शैली होइन, क्षमता निर्माण र संरचनागत सुधार आवश्यक रहेको जिकिर गरे।
प्रकाशित मिति: २६ माघ २०८२, सोमबार













प्रतिक्रिया