काठमाडाैं । वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित एक स्टोरमा छापा मार्न गएको भन्सार र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि स्थानीयले आक्रमण गरेका छन्। घटनामा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सरकारी सवारीसाधनमा तोडफोड भएको छ।
सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका अनुसार माघ २६ गते बिहान करिब १०:३० बजे विशेष सूचनाको आधारमा मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा भन्सार छली लुकाई–छिपाई राखिएको सामान छापामारी गर्न संयुक्त टोली परिचालन गरिएको थियो।
एपीएफ सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जका डीएसपी विकास अधिकारीको कमाण्डमा १० जना, गण हे.क्वा. पर्साबाट इन्स्पेक्टर सापकोटाको कमाण्डमा ९ जना तथा वीरगञ्ज भन्सार कार्यालयका तथ्यांक अधिकृत भागीरथ रौनियारको कमाण्डमा २ जनाको संयुक्त टोली परिचालित थियो।
सामान लोड गर्ने क्रममा २०–२५ जनाको समूहले ढुंगामुढासहित आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालयले जनाएको छ। आक्रमणबाट बागमती प्रदेश एफ ए ए ०१२५ नम्बरको गाडीको अगाडिको सिसा फुटेको छ भने एपीएफको स्कार्पियो गाडीमा पनि क्षति पुगेको छ।
घटनामा सशस्त्र प्रहरी वरिष्ठ सिपाही महमद मुस्ताक अली, हवल्दार जितेन्द्र प्रसाद सहनी र सहायक हवल्दार जितेन्द्र पासवान घाइते भएका छन्। संयुक्त टोलीले करिब ५ लाख रुपैयाँ मूल्य बराबरका भन्सार छलीका पाँच पोका कपडा बरामद गरेको छ।
आक्रमणमा संलग्नको पहिचान गरी कानुनी कारबाहीका लागि स्थानीय प्रशासन र प्रहरीसँग समन्वय भइरहेको सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डीआईजी कृष्ण ढकालले जानकारी दिए।
प्रकाशित मिति: २६ माघ २०८२, सोमबार













प्रतिक्रिया