काठमाडौं ।  सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपअन्तर्गत भारतविरुद्धको बहुप्रतिक्षित खेल खेल्न पाकिस्तान तयार भएको छ। करिब १० दिनअघि भारतसँग खेल्न अस्वीकार गरेपछि उत्पन्न भएको गतिरोध अन्त्य भएको हो।

पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अलग–अलग विज्ञप्ति जारी गर्दै फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा भारत र पाकिस्तानबीच खेल हुने पुष्टि गरेका छन्।

advertisement

पाकिस्तान सरकारका अनुसार श्रीलंका र संयुक्त अरब इमिरेट्स (यूएई)सहितका आईसीसी सदस्य राष्ट्रहरूले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई खेल बहिष्कार नगर्न आग्रह गरेका थिए। खेल नहुँदा प्रतियोगितामा सहभागी अन्य देशहरूलाई समेत ठूलो आर्थिक क्षति हुने भन्दै ती राष्ट्रहरूले चिन्ता व्यक्त गरेका थिए।

यस विषयमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र श्रीलंकाका राष्ट्रपति कुमारा दिसानायकेबीच टेलिफोन वार्ता भएको पनि जनाइएको छ।

पाकिस्तान सरकारले जारी गरेको विज्ञप्तिमा बहुपक्षीय छलफल र मित्र राष्ट्रहरूको आग्रहलाई ध्यानमा राख्दै फेब्रुअरी १५ मा हुने खेलमा राष्ट्रिय टोलीलाई सहभागी हुन निर्देशन दिइएको उल्लेख छ। सरकारले खेलको भावना जोगाउन र अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटको निरन्तरता सुनिश्चित गर्न यो निर्णय लिएको जनाएको छ।

व्यावसायिक हिसाबले यो खेल सन् २०२६ को टी–२० विश्वकपकै सबैभन्दा महत्वपूर्ण खेलमध्ये एक मानिन्छ। यसअघि पाकिस्तानको असहमतिका कारण प्रतियोगिताको आयोजना र प्रसारण अधिकारसम्बन्धी विषयमा अन्योल उत्पन्न भएको थियो।

 

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com